नेपालमै सुनिए सात देशका कवि
नेपालमै सुनिए सात देशका कवि
महेश क्षितिज, काठमाडौँ
१२ असोज, २०७३
नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा आठ देशबाट आएका विविध भाषाका कविहरूको कवितामा झुमिरहेका देखिए कविताका पारखीहरू । भाषाभन्दा पनि बढी कविता ध्वनि हो, र त्यो ध्वनि वैश्विक हुन्छ भन्ने मान्यतालाई चरीतार्थ पार्दै म्यान्मार, भुटान, थाइलेण्ड, भारत, बङ्गलादेश, जर्मनी र नेपालका ३४ कविहरूले आआफ्नै भाषाका कविता सुनाए ।
जरा फाउण्डेशन नेपालले आयोजना गरेको तीनदिने सिर्जना उत्सव “क्रिएटिभ ब्रिज” को अन्तिम दिन सो कविता उत्सवको आयोजना गरिएको थियो । उत्सवमा वाचित कविताहरूको अङ्ग्रेजी अनुवादको सङ्ग्रह “क्रिएटिभ ब्रिज” लाई प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपाध्ययले लोकर्पण गर्नुभयो । कृतिलाई महेश पौड्यालले सम्पादन गरेका हुन् भने राजकुमार बरालले अनुवादमा सहयोग पु¥याएका हुन् । यसै कार्यक्रममा कवि कृष्ण प्रसाईंका जेन कविता “घामको वर्षा” को बर्मेली अनुवाद पनि नेपालका लागि म्यान्मारका राजदूत लुइन ऊले विमोचन गरे ।
कार्यक्रममा कविता प्रस्तुत गर्ने कविहरूमा भारतबाट डा. भीखी प्रसाद र मनप्रसाद सुब्बा, जर्मनीबाट किम जे. बाडेन, बङ्लादेशबाट शेली सेनपुप्ता, म्यान्मारबाट मसि सी, भूटानबाट तुम्बेहाङ् लिम्बू, थाइलेण्डबाट चेन सोङ्सोम्फान, नाइ तिवा, चुलारात इस्राङ्कुल र चुएन्कमोन श्रीसोम्पोच तथा नेपालको तर्फबाट गोपाल पराजुली, अशेष मल्ल, महेश प्रसाईं, विवश पोखरेल, दिनेश अधिकारी, मातृका पोखरेल, विप्लव ढकाल, मोमिला, श्रवण मुकारुङ, श्वेता दीप्ति, रामगोपाल आशुतोष, छविरमण सिलवाल, असीम सागर, सन्ध्या पहाडी, हेमन्त विवश, उमेश अकिन्चन, केशव सिग्देल, केवल बिनावी, हेमप्रभास, देवकी अधिलाशी, सुनिता खनाल र सुदेश सत्यालले कविता वाचन गरेका थिए ।
सोही कार्यक्रममा, जरा फाउण्डेशनले नेपाल आर्ट काउन्सिलमा तीन दिनदेखि सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीको पनि समापनको घोषणा गरियो । सो प्रदर्शनीमा भारतका स्वपन बर्मन, अजय कुमार सरकार, हितेश दास, मनोज पल, प्रीति दास, सौरभ बेनर्जी र सुरज सुनुवार, जर्मनीका केथ्रिना पलमेन र पिटर हेर्गेट, बङ्लादेशका महम्मद तयाबुज्जमान खान तोपू र कृष्णा चटोपाध्याय, दक्षिण कोरियाका हान काब सू, म्यान्मारका सन्तोष अधिकारी, चीनका मिस्टर ली, थाइलेण्डका तनुपोन एन–ओन र सरोज अनन्त–औपोर्न, भूटानका दोर्जी ग्याल्चेन र पेमा ग्याल्चेन, तथा नेपालको तर्फबाट अजीत शाह, अनिता खनाल, भानू भट्टराई, देवेन्द्र थुम्केली, गणेश कुमार जीसी, हरिबहादुर खडका, केशवराज खनाल, लालकाजी लामा, नगेन्द्रप्रसाद पौडेल, नरेन्द्रबहादुर श्रेष्ठ, राजकुमार रानामगर, राज श्रेष्ठ, रमेश खनाल, एस.सी. सुमन, सुषमा राजभण्डारी तथा छेतेन सेर्पाका चित्रकला प्रदर्शनीमा राखिएका थिए ।
नेपाल पर्यटन बोर्ड तथा किङ्स हिल वाइन्स्को सहयोगमा जरा फाउण्डेशनले आयोजना गरेको यस तीनदिने उत्सवमा बङ्ग्लादेशी संस्था “रुट बङ्गलादेश” तथा भारतीय संस्था “लिफलेड चेरिटेबल ट्रष्ट” सहआयोजक रहेका थिए । सम्पूर्ण उत्सवका संयोजक र जरा फाण्डेशनका महासचिव महेश पौड्यालले भने, “एक वर्षभित्रै ३० भन्दा बढी राष्ट्रका साहित्यकारहरूको उपस्थितिमा काठमाडौँमै विशाल साहित्यिक उत्सव गर्ने योजनामा जरा फाउण्डेशन लागिपरेको छ ।”